अनिल वाग्ले
पूर्वेली । सडक कालोपत्रे गर्ने कार्यलाई प्राथमिकतामा राखेको बुद्धशान्ति गाउँपालिकाले चालू आर्थिक वर्षमा पालिका क्षेत्रका विभिन्न सडक कालोपत्रे गर्ने भएको छ । केहि सडकको कालोपत्रे गर्ने कार्यको ठेक्का लागी सकेको छ भने केहिको ठेक्काका लागि सार्वजनिक सूचना प्रकाशित भएको छ । केहि ठेक्का लाग्ने चरणमा छन् ।
चालू आर्थिक वर्षमा बुद्धशान्ति गाउँपालिकाकामा ७ करोड ३४ लाख ४४ हजार रुपैँयामा ७ हजार ८ सय १ मिटर सडक कालोपत्रे हुने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले ७ वटै वडामा कालोपत्रे गर्ने योजना अनुरुप काम अगाडि बढाउँदा जनप्रतिनिधिसँग जनताको आशा बढेको छ । चालू आर्थिक वर्षमा बुद्धशान्तिका विभिन्न सडक कालोपत्रे हुने बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले जानकारी दिएका छन् । उनले कालोपत्रेलाई प्राथमिकतामा राखेको बताउँदै कोभिडका कारण गर्न नसकिएका कामको बजेट, प्रशासनिक खर्च कटौती गरेर भएपनि सडक कालोपत्रे हुनेबताए । त्यस्तै गाउँपालिका उपाध्यक्ष मिरा भूर्तेलले जनप्रतिनिधिका रुपमा आएपछि जनताका काम गर्न आपूmहरु लागि परेको बताउँदै सडक कालोपत्रे गर्ने काम प्राथमिकतामा परेको बताइन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले चालू आर्थिक वर्षमा ७ वटै वडाका केहि सडक कालोपत्रे हुने बताए । उनले जयपूर भोटेटार सडकखण्डको गलान चोकबाट उत्तर १५ सय १० मीटर, बुद्धशान्ति–१ को देउरालीदेखि भोटेटार बजारसम्म १ हजार २ सय मिटर त्यस्तै बुधबारे पुलचोक भोटेटार सडकको कालोपत्रे भएको देखि उत्तर ५ सय ८० मिटर सडक कालोपत्रे हुने जानकारी दिएका छन् ।
बुद्धशान्ति वडा नं. १ का वडाध्यक्ष भीमकुमार नेवारले चालू आर्थिक वर्षमा कालोपत्रे गर्न सम्झौता भएका र हुन लागेका सडक कालो पत्रे भईसक्ने बताएका छन् । उनले जनप्रतिनिधि जनताकै काम गर्न चुनिएको बताउँदै जनताका काममा सम्पूर्ण जनप्रतिनिधि दत्तचित्त भएको बताए ।
प्रमुख प्रशासकीय अधिकृत चापागाईका अनुसार जयपूर भोटेटार सडकखण्डको गलान चोकबाट उत्तर १५ सय १० मीटरका लागि १ करोड ५० लाख, बुद्धशान्ति–१ को देउरालीदेखि भोटेटार बजारसम्म १ हजार २ सय मिटरका लागि १ करोड २० लाख त्यस्तै बुधबारे पुलचोक भोटेटार सडकको कालोपत्रे भएको देखि उत्तर ५ सय ८० मिटरका लागि ५६ लाख ४४ हजारको बजेट रहेको छ ।
१ हजार ५१० मिटरका लागि समपुरक अनुदान (प्रदेश मार्फत) १ करोड, गाउँपालिका मार्फत ५० लाख, १ हजार २ सय मिटरका लागि राजश्व बाँडफाँड समानिकरण अनुदान र आन्तरिक स्रोतबाट बजेट तयार गरिएको छ भने ५ सय ८० मिटरका लागि ससर्त अनुदानको बाँकी ठेक्का लागेर बाँकी रहेको रकम र गाउँसभाबाट पास भएको ३० लाख रुपैँया रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चापागाईले जनाए ।
यसैबीच गाउँपालिकाले सबै ७ बटै वडाका विभिन्न सडकमा पनि बजेट विनियोजन यसै आर्थिक वर्षमा काम सम्पन्न हुने गरी काम अगाडि बढाएको छ । चालू आर्थिक वर्षमा सडक कालोपत्रे गर्न गोपाल डाँडा सरस्वती आधारभूत विद्यालय जाने सडकका लागि ३० लाख, कल्याण मार्गका लागि ३० लाख, पिपल चोक–हँडियाचुली मार्गका लागि ३० लाख, सगरमाथा आमा समूह ढकाल गौँडा पुछार सडकका लागि ३० लाख, देउराली ठूटेबर मार्ग ३० लाख, मेची राजमार्ग जरेबर ३० लाख, जयकृष्ण मार्ग ४८ लाख, पुलचोक ५ लाख, लक्ष्मीनारायण मार्ग ४६ लाख, ताराबारी मार्ग ४६ लाख, बुद्धशान्ति २ र ३ को सिमाना डाँडागाउँ–प्रगति टोल जगद्गुरु महानन्द सडक ३५ लाख, झम्के चोक पश्चिम बिरिङ सडक १५ लाख, बुधबारे चिलिमगढी सडक १५ लाख, पिपल चोक हँडियाचुली सडकलाई कालोपत्रे गर्न १८ लाख रुपैँया विनियोजन गरिएको छ ।
विभिन्न सडक कालोपत्रे हुने भएपछि जनतामा खुशी देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?