बुद्धशान्ति गाउँपालिका : चर्चामा ४ कुरा

  • 96
    Shares

‘गाडीका विषयमा नकारात्मक टिप्पणी आएपछि उहाँहरु चडेको देखेको छैन ।’ एक जनप्रतिनिधि भन्छन् ‘नचड्ने भने पछि अब फेरि चड्न नैतिक दवाव परेको छ, उहाँहरु सायद अब त्यो गाडीमा चड्नु पनि हुन्न ।’ अध्यक्ष उपाध्यक्ष नचडेपनि गाडी कार्यालय प्रयोजनका लागि सञ्चालन भने भइसकेको छ ।

अनिल वाग्ले
पूर्वेली । बुद्धशान्ति गाउँपालिकाको १३८ औं कार्यपालिका बैठकले गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि नसुह प्रसाईंको नाममा रहेको साविक बुधबारे–९ (हाल बुद्धशान्ति–३) को कि.न. ४२९ को २ कठ्ठा ४ धुर जग्गाको जग्गा धनीको मागदावी बमोजिमको मुआब्जा रकम दिने निर्णय गरेको छ ।

मुआब्जा अनुरुप एक करोड २३ लाख रुपैँया भुक्तानी दिई जग्गा अधिग्रहण गर्ने निर्णय भएको गाउँपालिका स्रोतले बताएको छ ।

२०७६ साल माघ १३ को मन्त्रीपरिषद्को निर्णयानुसार ‘जग्गा प्राप्ति गर्दा लाग्ने मुआब्जा लगायतका सबै खर्च स्थानीय तहले नै ब्यहोर्ने गरी’ जग्गा प्राप्तिका लागि दिएको स्विकृति र सो स्विकृतिका आधारमा जग्गा प्राप्ति ऐन, २०३४ को दफा १३ बमोजिम झापाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा २०७७ असोज ३० गतेको निर्णयबाट सो जग्गाको अधिग्रहण मुल्य तोकिएको र जग्गा धनीको मागदावी अनुसारको रकम भुक्तानी दिई जग्गा अधिग्रहण गर्ने निर्णय भएको गाउँपालिका स्रोतको भनाई छ ।

यसैबीच कार्यपालिका बैठकले नेपाल रेडक्रस सोसाइटी समेतको भवन रहेको गाउँ कार्यपालिका परिसर भित्ररहेको डिल्ली नारायण श्रेष्ठ÷अमरबहादुर श्रेष्ठको जग्गा यही मंसीर मसान्तभित्र गाउँपालिकाको नाममा निःशुल्क प्राप्तिका लागि गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेलको नेतृत्वमा वडाध्यक्षहरु भीमकुमार नेवार, दिलिप श्रेष्ठ, कमलप्रसाद उप्रेती र मातृका पौड्याललाई जिम्मेवारी दिने निर्णय भएको बताइएको छ ।

यता गाउँपालिकाले दोस्रो पटक बुद्धशान्ति अस्पतालका लागि निःशुल्क जग्गा प्राप्तिका लागि सार्वजनिक सूचना प्रकाशित गरेको छ । यही मंसीर ९ गते गाउँपालिकाले दोस्रो पटक बुद्धशान्ति अस्पतालका लागि निःशुल्क जग्गा उपलब्ध गराउने बारेको सूचना प्रकाशित गरेको हो ।

बुद्धशान्ति गाउँपालिकाको स्वामित्वमा संचालिक ५ शैयाको बुद्धशान्ति अस्पतालको स्तर बृद्धि गरी २५ शैयाको अस्पताल बनाउन गाउँपालिकासँग आवश्यक जग्गा नभएकाले स्वास्थ्य भवन पूर्वाधारको डिजाइन तथा निर्माण सम्बन्धी निर्देशिका, २०७३ मा भएको व्यवस्था अनुसार उक्त अस्पतालका लागि निःशुल्क जग्गा प्राप्तिका लागि असोज ८ गते प्रथम पटक प्रकाशित २१ दिने सार्वजनिक सूचनामा कुनै पनि दरखास्त पर्न नआएकाले स्वास्थ्य भवन पूर्वाधारको डिजाइन तथा निर्माण सम्बन्धी (पहिलो शंसोधन) निर्देशिका, २०७७ बमोजिम उक्त अस्पतालका लागि निःशुल्क जग्गा प्रदान गर्न चाहनुहुनेसँग जग्गा माग गरिएको छ ।

त्यस्तै १ सय ३७ औं कार्यपालिका बैठकले चर्चामा आएको नयाँ गाडीको विषयमा पनि निर्णय गरेको छ । उच्च मूल्यको विलाशी गाडी खरीद गरे पछि नकारात्मक टिप्पणी आएपछि फिर्ता गर्ने मनसायमा पुगेपनि गाडी फिर्ता नहुने भएपछि खरीद गरिएको गाडीको रकम भुक्तानी गर्ने निर्णय १ सय ३७ औं कार्यपालिका बैठकले गरेको र सोही अनुरुप रकम भुक्तानी गरिएको गाउँपालिका स्रोतको भनाई छ । गाडी खरिद प्रकरणलाई लिएर राजनीतिक दाउपेज भएपछि गाउँपालिका अध्यक्ष उपाध्यक्षले सो गाडी नचड्ने बताए पछि हालसम्म उनीहरु सो गाडीमा नचडेको गाउँपालिका स्रोतको भनाई छ ।

‘गाडीका विषयमा नकारात्मक टिप्पणी आएपछि उहाँहरु चडेको देखेको छैन ।’ एक जनप्रतिनिधि भन्छन् ‘नचड्ने भने पछि अब फेरि चड्न नैतिक दवाव परेको छ, उहाँहरु सायद अब त्यो गाडीमा चड्नु पनि हुन्न ।’ अध्यक्ष उपाध्यक्ष नचडेपनि गाडी कार्यालय प्रयोजनका लागि सञ्चालन भने भइसकेको छ ।

गाडी किन्न चालू आर्थिक वर्ष २०७७÷७८ मा रु. ५५ लाख विनियोजन भएको र सो बजेटमा १२ लाख थप गरी भ्याट बाहेक ५९ लाख २९ हजार २ सय ३ रुपैँया ५४ पैसामा गाडी खरीदका लागि साउन ९ गते बोलपत्र आव्हान भएकोमा सकुशल ट्रेडलिंक प्रा.लि. बिर्तामोडको एकमात्र बोलपत्र दाखिला भई महेन्द्र स्कर्पियो गाडी खरीद गरी सो वापतको रकम भुक्तानी दिन बाँकी रहेकोमा विनियोजित बजेटमा रकम थप गरी मुक्तानी दिइएको बताइएको छ ।

१ सय ३६ औं कार्यपालिका बैठकमा गाडी फिर्ता गर्ने विषयमा निर्णय भएपनि गाडी फिर्ता प्रकृया अघि बढाउने सिलसिलामा सम्बन्धित बिक्रेतासँगको छलफल र प्रचलित सार्वजनिक खरीद ऐन तथा नियमावली समेतका आधारमा प्रकृया पूरा गरी खरीद गरिएको उक्त गाडी फिर्ता गर्न नमिल्ने देखिएकाले रकम नै भुक्तानी दिने निर्णय भएको गाउँपालिका स्रोतले बताएको छ ।

गाडी खरीद वापत लागेको ६६ लाख ८० हजार रुपैँया सकुशल ट्रेडलिंक प्रालि बिर्तामोडलाई भुक्तानी दिने निर्णय कार्यपालिका बैठकले गरेको थियो । जसमा थप रकम अध्यक्ष कोषबाट ६ लाख र उपाध्यक्ष कोषबाट ६ लाख ब्यहोर्ने अघि नै निर्णय भएतापनि सो १२ लाख मेशीनरी तथा औजार शीर्षकबाट भुक्तानी दिने निर्णय गरिएको थियो । गाडी प्रकरणलाई लिएर बुद्धशान्तिमा राजनैतिक दाउपेज बढेका छन् । गाडी खरिदको विषयमा जन प्रतिनिधि पनि विभाजित भएका थिए ।

Total Page Visits: 759 - Today Page Visits: 2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *