– हरिप्रसाद पोखरेल, बुद्धशान्ति / वर्षायामको सुरुवातसँगै नेपालको तराई क्षेत्रमा सर्पदंशको प्रकोप बढ्ने गर्छ । हाम्रो देशमा चेतनाको कमी, अशिक्षा र अन्य कारणले गर्दा वर्षेनी यस प्रकोपबाट थुप्रै मानिसहरुले अकालमा मृत्युवरण गर्नु परिरहेको अवस्था छ । तसर्थ सबैमा सचेतनाको निम्ति यो सानो लेख तयार पारेको छु ।
सर्प सम्बन्धी केही तथ्यहरु :
सबै सर्पहरु विषालु हुँदैनन् । नेपालमा जम्मा ८९ प्रजातिका सर्पहरु पाइन्छन् । ती मध्ये केवल १७ प्रजातिका मात्र विषालु छन् । सर्पको टोकाइको अवस्थालाई आधार मान्ने हो भने नेपालमा निम्न ४ प्रकारका सर्पहरुको प्रकोप बढी देखिन्छ ।
क) गोमन, ख) करेत, ग) भाइपर, घ) हरेऊ (हरियो भाइपर)
नेपालका सर्पदंश उपचार केन्द्रहरुको तथ्याङ्कको आधारमा हेर्दा सबैभन्दा बढी गोमनको डसाईको प्रकोप रहेको पाइन्छ । यो जातको सर्प बढी रिसाहा र आक्रमक हुन्छ । हाम्रो वरपर मुख्यतया २ प्रकारका गोमनहरु पाइन्छन् ।
क) ईन्डियन कोब्रा (गोमन)
ख) किङ कोब्रा (राजा नाग)

ईन्डियन कोब्रा हाम्रो वरपर धेरै पाइन्छ । विशेष गरेर यो तराई, चुरेभावर क्षेत्रमा बढी मात्रामा देखिन्छ । पहाडी क्षेत्रमा यो कम मात्रामा पाइन्छ । यसको लम्बाई ३ देखि ७ फिटसम्म हुन्छ । यिनीहरु सेतो र कालो दुई रङमा देखिन्छन् । त्यसरी नै अर्को प्रकारको गोमन (राजानाग) चुरेभावर क्षेत्र तिर केही कम देखिएता पनि दक्षिणी तराईमा धेरै पाइन्छ । यो निकै लामो हुन्छ र संसारकै सबैभन्दा छिटो हिड्न सक्ने सर्प हो । यसको लम्बाई १८ फिटसम्म हुन्छ । यो कालो रङमा ४ देखि ६ इन्चमा सेतो गोलोकार धर्काहरु भएको हुन्छ । नेपालमा पाइने सबैभन्दा विषालु सर्प पनि यही हो ।

करेत सर्प गोमन भन्दा कम आक्रमक हुन्छ । यसलाई निकै ठूलो असर नपरी डस्दैन । यसले डसेपछि ढिलो विषको असर देखिन्छ र लामो समयसम्म रहिरहन्छ । यसका विभिन्न प्रकारहरु नेपालमा पाइन्छन् । यो सर्प तराईदेखि १४५० मिटर उचाईको पहाडी क्षेत्रमा समेत पाइन्छ । तराईमा पाइने ‘गनग्वाली’ अत्यन्त विषालु करेत सर्प हो ।
सर्प अध्याँरो ठाउँमा बस्न रुचाउने सरीसृप हो । तसर्थ यसको वासस्थान भनेको मुसाको प्वाल, ढुङ्गाहरुको च्याप, काठको चाङ, दाउराको हार, घर गोठको टाडमुनी, परालको माच, गोठमा राखिएको पराल, ढोड, खोसेला, अध्याँरो झाडी, पुरानो टायर, जुत्ता, घरभित्रका च्यापहरु, अगेनामुनी, चुलो मुनी, घरभित्र दराज पछाडिको ठाउँ, दराजभित्र, ओछ्यान र खाटको बिचको खाली ठाउँ आदिमा हुने गर्दछ । सर्प हिउँदाका ६ महिनासम्म खानेकुरा नखाइकन एकै ठाउँमा गुजुल्टिएर बस्न सक्छ । यसको कान हुँदैन, जमिनमा पैदा हुने कम्पनलाई विश्लेषण गरी चेतना ग्रहण गर्दछ । सर्प दिनभरी अध्याँरो ठाउँमा लुकेर बस्छ र साँझ परेपछि शिकारको लागि बाहिर निस्कन्छ । यो क्रम रातको ९–१० बजेसम्म रहन्छ । विशेष गरी करेत सर्पका प्रजातिहरु भने घर वा गोठभित्र लुकेर बस्न रुचाउँछन् ।

सर्पले हत्तपत्त कसैलाई डस्दैन । आफुलाई निकै असर परेपछि आत्मरक्षाको लागि मात्र यिनीहरुले डस्ने गर्छन् । अधिकांश अवस्थामा यिनीहरुको डसाई मानिसको हात वा खुट्टामा हुने गर्दछ । सर्पले डसिसके पछि यसको विष सोझै रगतमा मिसिदैन । यो Lymph vessels (लसिका नलीहरु) हुँदै विस्तारै फैलदै जान्छ । Lymph node (लसिका ग्रन्थी) मा पुगे पछि मात्र विष रगतमा मिसिन्छ र शरीर भरी फैलन्छ । यसैकारण कुनै व्यक्तिलाई सर्पले टोक्दा तत्काल मृत्यु नभई केही समय पश्चात मात्र हुन्छ । यही बिचको समयमा प्रभावकारी प्राथमिक उपचार र त्यसपछि थप चिकित्सकीय उपचार पाएका मानिस अकाल मृत्युको मुखबाट बच्न सक्छन् ।
सर्पको डसाइबाट बच्न के गर्नु पर्छ ? (सावधानी)
१) प्राय सर्पको डसाई हात वा खुट्टामा हुने भएकाले खेतवारीमा अन्यत्र काम गर्दा लामो बाहुला भएको सर्ट÷भेष्ट र पाइन्ट÷ट्राउजर लगाउनु पर्छ । सम्भव भएसम्म हातमा लामो रबरको पञ्जा र खुट्टामा घुँडासम्म आउने गमबुट लगाउनु पर्छ ।
२) सर्पले भूँइमा हुने कम्पनबाट चेतना ग्रहण गर्ने भएकाले खेतवारी वा अन्यत्र सर्प बस्न सक्ने स्थानमा काम गर्नु अघि भूँइमा ढक्ढक्याएर कम्पन पैदा गर्नुपर्छ । ताकी सर्प त्यहाँबाट भागोस् ।
ड्ड गोठबाट पराल, खोसेला, ढोड आदि भिक्नु पूर्व त्यसलाई लामो लौरोले चलाएर कम्पन गराउने साथै घाँस काट्नु अघि घाँसलाई हसियाले चलाउनु पर्छ ।
ड्ड दाउराको हारबाट दाउरा झिक्नु अघि दाउराले हारमा हिर्काएर कम्पन पैदा गर्नु पर्छ ।
३) जुत्ता लगाउनु अघि जुत्तालाई टुप्पोबाट समाई टक्टक्याउनु पर्छ ताकी सर्प भए भागेर जाओस् ।
ड्ड वर्षायाममा चर्को घाम पछि पर्ने वर्षाका कारण सर्पहरु दुलो वा अन्यत्रबाट निस्केर घर वा गोठभित्र पस्न सक्ने भएकाले घरवरीपरी झाडी फाड्नु पर्छ, गन्ध आउने वस्तुहरु घरवरपर राखी सर्पलाई घरभित्र पस्न दिनु हुँदैन ।
४) सर्प उज्यालो ठाउँमा बस्न वा हिड्डुल गर्न रुचाउँदैन तसर्थ यसको शिकार गर्ने समय साँझदेखि ९–१० बजेसम्म घरवरीपरी बत्ती वाली उज्यालो बनाउँदा यो घरभित्र पस्न सक्दैन ।
५) राती अध्यारोमा हिड्नु परे अनिवार्य रुपमा जुत्ता लगाउने, टर्च बालेर हिड्ने र खुट्टा बजारेर भूँइमा कम्पन पैदा गर्दै हिड्नु पर्छ ।
६) सर्पले पारिस्थितिक पद्धतिलाई सन्तुलन गर्न सहयोग गर्ने भएकाले यसलाई मार्नु हुँदै हुँदैन बरु देखा परे लठ्ठीले विस्तारै भगाउनु पर्छ ।
७) सर्पलाई अनावश्यक रुपमा चलाउने,जिस्क्याउने, माला लगाउने, पुच्छरमा समातेर चटक देखाउने गर्नु हुँदैन ।

सर्पले टोकेको खण्डमा कसरी प्राथमिक उपचार गर्ने ?
सर्पको टोकाइमा घाइते आवश्यकता भन्दा बढी आतिन्छ, जसको कारण रक्तसञ्चार छिटो हुन्छ । यसले विषलाई छिटो फैलने वातावरण सृजना गर्छ, परिणामस्वरुप घाइतेको चाडो मृत्यु हुन्छ । तसर्थ सर्पको टोकाइमा प्राथमिक उपचारकले घाइतेको आत्मविश्वास बढाउँदै मनोवल उच्च राख्न सदैव प्रयास गर्नुपर्छ ।
सबै सर्पहरु विषालु हुँदैनन् र सर्पले डस्नासाथ कसैको पनि मृत्यु हुँदैन साथै तपाई सुरक्षित हुनुहुन्छ र चाडै उपचार केन्द्र पु¥याई तपाईको उपचार गरिन्छ भनी सान्तवना दिन सक्नु पर्छ ।
प्राथमिक उपचारले आफ्नो हात साबुनपानीले राम्रोसँग धुने र पञ्जा लगाउने गर्नुपर्छ किन की रगतबाट अन्य रोगहरु सर्ने सम्भावना रहन्छ ।
घाइतेलाई आरामसँग बसाएर वा सुताएर राख्नु पर्छ र अन्य संक्रमणहरुबाट बचाउन दन्तडोव वरीपरीको क्षेत्र राम्ररी साबुन पानीले सफा गर्नुपर्छ ।
विषको फैलावटलाई ढिलो गर्न टोकेको स्थानबाट माथि तिर पट्टी वा कपडाले अप्ठ्यारो नहुने गरी कस्दै बेर्दै जानु पर्छ । यदि हातमा भए पाखुराको माथिल्लो भागसम्म र खुट्टामा भए तिघ्राको माथिल्लो भागसम्म बेर्नु पर्छ ।
अनावश्यक हलचल गर्दा विष चाडै फैलने भएकाले सर्पले डसेको अङ्गलाई काम्रोले बाँधि, काम्रोलाई शरीरसँग बाँध्नु पर्छ ।
चाँडो भन्दा चाडो घाइतेलाई उपचार केन्द्रमा पु¥याउनु पर्छ ।
हातमा चुरा, औंठि, घडी र खुट्टामा पाउजु आदि बस्तु भएमा खोलिदिनुपर्छ । किनकी संक्रमण भाग सुन्निएर जान्छ र ती बस्तुहरु गाडीएर जान्छन् ।
सर्पको टोकाईमा के गर्नु हुँदैन ?
घाइतेलाई अत्याउनु हुँदैन ।
केही कुरा खान वा पिउन दिनु हुँदैन ।
काम्रो बाध्दा वा घाउ धुँदा घाइतेलाई अनावश्यक हलचल गराउनु हुँदैन ।
सर्पले टोकेको ठाउँमा काट्दा रगतसँगै विष पनि बगेर वाहिर निस्कन्छ भन्ने मान्यता विल्कुल गलत हो । यसो गर्दा रक्तस्राव हुने र घाउबाट अन्य संक्रमण हुने सम्भावना बढी हुन्छ ।
शरीरभित्र प्रवेश गरेको विष चुसेर बाहिर निस्कदैन यसो गर्नु भनेको समयनष्ट गरी घाइतेलाई जटिल अवस्थामा पु¥याउनु हो ।
सर्पले डसेको ठाउँभन्दा माथि पाखुरा वा तिघ्रामा कस्सिनेगरी ट्युब वा डोरीले बाध्ने काम गर्नु हुदैन । यसो गर्दा रक्तसञ्चार र चेतनासञ्चारमा अवरोध भई अङ्ग नचल्ने हुन सक्छ ।
तर कसैले यसरी बाँधिसकेको छ भने खोल्नु भने हुँदैन । यसो गर्दा डोरी वा ट्युवले बाध्दा जम्मा भएको विष एकै साथ प्रवाह भई घाइतेलाई घातक असर पुग्न सक्छ ।
झारमौरो र झारफुकबाट विषालु सर्पको टोकाईमा उपचार गर्न खोज्नु भनेको समय बर्वाद गरी घाइतेलाई मृत्युको मुखमा पुर्याउनु हो ।
यस लेखमा उल्लेख गरिएका सबै तथ्यहरु र तरिकाहरुलाई गहन अध्ययन गरी कमिकमजोरीहरु औल्याई दिनुहुन साथै सर्वसाधारणसम्म पु¥याई दिनु सबै पाठकसामु हार्दिक अनुरोध गर्दछु । किनकी यो लेख खेतवारी र अन्यत्र काम गर्ने किसान, मजदुरहरुको जीवनरक्षाको लागि बढी प्रभावकारी हुने कुरामा दुईमत छैन । सामान्य अवस्था भए टोलटोलमा पुगी प्रशिक्षण सञ्चालन गरी चेतना बढाउन सकिन्थ्यो । अहिलेको विषय परिस्थितिमा यही विकल्प उपयुक्त होला भनी यो लेख प्रकाशित गरिएको छ ।
(लेखक नेपाल रेडक्रसका प्राथमिक उपचार प्रशिक्षक एवम् श्री आदर्श माध्यमिक विद्यालय, बुद्धशान्ति–२, जयपुरका विज्ञान शिक्षक हुनुहुन्छ ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?